कृषि क्षेत्रको आधुनिकीकरण तथा कृषि व्यवसायको विकास मार्फत खाद्य सुरक्षा एवं गरिबी निवारणमा टेवा पुर्याउदै बागमती प्रदेशको समग्र आर्थिक सामाजिक विकासको गतिलाई अगाडी बढाउन, प्रदेशस्तरमा कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धी तालिम कार्यक्रमहरु सञ्चालन गरी यस क्षेत्रमा संलग्न कृषक, कृषि व्यवसायी एवं प्राविधिकहरुको निरन्तर रुपमा सीप तथा क्षमता अभिवृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालय मातहत रहने गरि कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रलाई प्रमुख जिम्मेवारी तोकिएको छ । यस प्रदेशका कृषकहरु, कृषि उद्यमी तथा व्यवसायीहरुलाई कृषि क्षेत्रमा लगानी गर्न आकर्षित गर्दै उनीहरुलाई उद्यम व्यवसाय गर्न उत्प्रेरित गर्ने, व्यवसाय स्थापना तथा सञ्चालनमा आवश्यक प्राविधिक तथा अन्य विषयमा परामर्श सेवा उपलब्ध गराउने र कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गरी यस प्रदेशमा कृषि व्यवसायको विकासलाई गति प्रदान गर्ने जिम्मेवारी समेत यस केन्द्रको रहेको छ । यस केन्द्रको कार्यालय हाल चितवनको भण्डारामा रहेको छ ।

कार्यक्षेत्र

बागमती प्रदेशमा नेपालका १३ जिल्लाहरु पर्दछन्। ती जिल्लाहरु धादिङ, रसुवा, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र चितवन हुन्। यस प्रदेशका १३ जिल्लाहरुमा ३ वटा महानगरपालिका (काठमाण्डौं, ललितपुर र भरतपुर), १ वटा उपमहानगरपालिका (हेटौंडा), ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी जम्मा ११९ वटा स्थानीय तहहरु रहेका छन्। यस केन्द्रले बागमती प्रदेश भित्रका यीनै १३ वटा जिल्लामा रहेका कृषक, उद्यमी तथा कृषि प्राविधिक तथा अन्य सरोकारवालाहरुलाई मुख्य सेवाग्राहीहरुको रुपमा लिई आफ्ना कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्दै आइरहेको छ । यस केन्द्रको कार्यक्षेत्र अन्तर्गत पर्ने जिल्लाहरुको नक्सा तल प्रस्तुत गरिएको छ ।

Working Area Map